Advertisement Banner
Advertisement Banner

०३ आइतबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

सवारीसाधनबाट पेट्रोलियम पदार्थ चोरी गर्ने गिरोह पक्राउ

०३ मंगलबार , भाद्र २०८२एक बर्ष अगाडि

सवारीसाधनबाट पेट्रोलियम पदार्थ चोरी गर्ने गिरोह पक्राउ

भक्तपुरको विभिन्न ठाउँमा पार्किङ गरि राखेको विभिन्न सवारीसाधनबाट पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोह पक्राउ परेको छ । पार्किङ गरि राखेको सवारीसाधनबाट पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित एउटा इँटा भट्टामा रोकी राखेको निसान ट्रकबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा स्थानीयले गिरोहका चार जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । बा ४ ख ४२८० नम्बरको बसमा आएका गिरोहले ४० लिटर डिजेल चोरी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिईएको बताइएको छ ।

पक्राउ पर्नेमा बसका चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–११ घर भई हाल च्यामासिंह बस्ने ३२ वर्षीय सरोज सुनार, बसको सहचालक चाँगुनारायण–७ बागेश्वरी बस्ने ३२ वर्षीय अमीर लामा, सूर्य विनायक नगरपालिका–७ बस्ने २७ वर्षीय सुमन तामाङ र काठमाडौँ थानकोट घर भई हाल च्यामासिंह बस्ने २७ वर्षीया पूर्णिमा महर्जन रहेका प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ गर्ने क्रममा स्थानीयले कुटपिट गर्दा केहि चोर घाइते भएको र उनीहरुलाई भक्तपुर अस्पतालमा उपचार गरी प्रहरी हिरासतमा लगिएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न रहेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर राखेका चार जनालाई प्रहरीले हिरासतमा राखेर छानबिन गरिरहेको छ ।