
माछा मार्न गएका दिलबहादुर राई त्रियुगा खोलामा बेपत्ता भएका छन् । गाईघाटको चौदण्डीगढी नगरपालिका–६, सातघरेका राई सोमबार त्रियुगा खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएका हुन् ।
दिउसो ३ बजे तिरको समयमा त्रियुगास्थित भिमाहामा बल्छी लिएर माछा गर्न गएका राई एकाएक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जनाएका छन् । सूचना अधिकारी दोङका अनुसार ४५ वर्षीय राई त्रियुगास्थित भिमाहामा बल्छी लिएर माछा गर्न गएका थिए ।
गएराति अबेरसम्म बेपत्ता राईको खोजी गर्दा पनि पत्तो नलागेपछि आज बिहानदेखि पुनः खोजि कार्य सुरु गरिएको बताइएको छ । बेपत्ता राईको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।