
अहिले मुलुकभर मनसुनी गतिविधि केही कमजाेर बनेकाे भएपनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न भागमा वर्षासँगै केहि स्थानमा भारी वर्षाकाे संभावना रहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा आज दिनभर भारी वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।
मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा दक्षिणतर्फ सरेका कारण नेपालमा मनसुनी गतिविधि भने केही कमजोर बनेको हाे । आज राति कोशी प्रदेशको तराई क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।
अहिले कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ भने देशका अन्य भूभागमा पनि मौसम आंशिक बदली भएको छ । आज बिहानैदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशभरको मौसम सामान्यतया बदली हुनुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा मौसम बदली भई थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने र कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरू कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका बासिन्दालाई बाढी, पहिरो तथा भूक्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।