
आज सुदूरपश्चिम प्रदेश हर्षोल्लासपूर्वक ‘वल्के’ पर्व मनाइँदैछ । हरेक वर्ष भदौ १ गते मनाइने यो पर्व यस वर्ष पनि धुमधामका साथ् मनाउन लागिएको हो ।
आज बैतडीसहित सुदूरपश्चिम प्रदेशभर उपहार वा कोसेली साटासाट गरि ज्येष्ठहरुलाई सम्मान सहित हर्षोल्लासपूर्वक यो पर्व मनाइदैछ । उपहार वा कोसेली साटासाटको परम्परा बोकेको यो पर्वमा सानालाई माया गर्ने मौलिक संस्कृतिको परिचायक समेत मानिन्छ ।
बिहानै स्नानध्यान गरी फलफूल,अन्न,दूध,दहीदेखि कृषि औजारसम्म आफन्तलाई उपहार दिने प्रचलन यस ‘वल्के’ पर्वको विशेषता रहेको स्थानीयको भनाइ रहेको छ । हातमा मेहेन्दी लगाउने, मीठा–मसिना परिकार खाने र मन्दिरमा अन्न चढाउने परम्परा पनि ‘वल्के’ पर्वसँग जोडिएको छ भने यो पर्वलाई सिंह सङ्क्रान्ति पनि भन्ने गरिन्छ ।
‘वल्के’ पर्वलाई केवल उपहार आदान–प्रदानको पर्व मात्र नभई परिवार, समाज र संस्कृतिलाई बाँध्ने कडीको रूपमा समेत लिने गरिएको छ । उक्त ‘वल्के’ पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।