Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कुवेतमा विषालु मदिरा सेवन गर्दा ११ नेपालीको मृत्यु

०१ आइतबार , भाद्र २०८२६ दिन अगाडि

कुवेतमा विषालु मदिरा सेवन गर्दा ११ नेपालीको मृत्यु

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका ११ जना नेपाली श्रमिकको विषालु मदिरा सेवन गरि मृत्यु भएको छ । विषालु मदिरा सेवन गरि पछिल्लो चार दिनमा ११ जनाको मृत्यु भएको हो भने ४० जना गम्भीर बिरामी परेका छन् ।  

कुवेतमा अवैध रूपमा उत्पादित विषाक्त मदिरा सेवन गर्दा नेपाली श्रमिकको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । कुवेतको साल्मिया क्षेत्रमा भएको घटनामा नेपाली र भारतीयलगायत एसियाली मुलुकका श्रमिकहरू पीडित बनेका छन् ।

कुवेतको स्वास्थ्य मन्त्रालयले घटनामा ११ नेपाली लगायत कुल २३ विदेशी श्रमिकको मृत्यु भएको पुष्टि गरेको छ । सेवन गरिएको मदिरामा ‘मेथानोल’ नामक घातक औद्योगिक रसायन मिसाइएको कुवेती स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको बताइएको छ ।

अहिले विषालु मदिराका कारण १ सय ६० भन्दा बढी श्रमिक बिरामी परेका छन् भने ३१ जनाको अवस्था अत्यन्तै गम्भीर रहेकाले भेन्टिलेटरमा उपचार भइरहेको र ५१ जनाको आपत्कालीन मृगौला डायलासिस गरिनुका साथै कतिपयले आँखाको ज्योति गुमाएको बताइएको छ ।

कुवेतमा मदिराको उत्पादन, बिक्री-वितरण र सेवनमाथि कडा कानुनी प्रतिबन्ध छ भने सोहि कारण लुकीछिपी अवैध र गुणस्तरहीन मदिरा उत्पादन र बिक्री हुने गरेको र त्यस्ता अवैध मदिरा सेवन गर्दा ज्यानै जाने गरेको हो ।

हाल कुवेतस्थित नेपाली दूतावासले पीडित नेपालीहरूको पहिचान र उपचारमा समन्वय गरिरहेको दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले नेपाली समुदाय र कुवेती सरकारसँग निरन्तर सम्पर्कमा रहेर आवश्यक सहयोग प्रदान गरिएको बताएका छन् भने यता, परराष्ट्र मन्त्रालयले पनि दूतावासलाई पीडित परिवारसँग समन्वय गर्न र उद्धारमा सक्रिय रहन निर्देशन दिएको बताइएको छ ।