
काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहले शिविरमार्फत उपत्यकामा बसाेवास गर्ने आफ्ना नागरिकलाई सेवा दिन थालेका छन् । चौँरीदेउराली गाउँपालिकाले काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका आफ्ना नागरिकका लागि शिविर सञ्चालनको तयारी गरेको हाे ।
गाउँपालिकाले विशेष गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं परिचयपत्र नवीकरण गर्ने व्यवस्था मिलाएको हाे । चौँरीदेउरालीले सार्वजनिक सूचना नै प्रकाशन गरी आजदेखि काठमाडौँको विभिन्न स्थानमा सेवा दिने जनाएको छ । एक हप्ते शिविरमार्फत सेवा दिन सार्वजनिक गर्दै तालिकामा मिति र वडा नं उल्लेख गरीएको छ ।
यसअघि जिल्लाकाे तेमाल गाउँपालिकाले साउन तेस्रो साता काठमाडौँ उपत्यकालगायतकामा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको थियो । गाउँपालिकाले एक हप्ते शिविर मार्फत विशेष गरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको थियाे ।
उक्त शिविरबाट सामाजिक सुरक्षा भत्ता लिने पाँच सय ९१ नागरिकलाई सेवा दिइएको गाउँपालिकाले जनाएको छ ।