
हिमाला पारीको जिल्लाको रुपमा परिचित मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका स्थानीय तहहरूलाई एकै स्थानमा भेला गराउने तयारी गरेको छ । गाउँपालिकाले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण र अनुकूलनका लागि साझा ऐक्यबद्धता जनाउने उद्देश्यले देशभरका स्थानीय तहहरूलाई एकै स्थानमा भेला गराउने तयारी गरेको हो ।
घरपझोङ गाउँपालिकाले आगामी भदौ ३१ गते जोमसोममा राष्ट्रिय स्तरको ‘जलवायु परिवर्तन सम्मेलन’ आयोजना गर्ने घोषणा गर्दै नेपालका ७५३ वटै गाउँपालिका तथा नगरपालिकाका प्रमुख र अध्यक्षहरूलाई निमन्त्रणा पत्र पठाइसकेको बताइएको छ ।
घरपझोङ गाउँपालिकाले देशको तराई, पहाड र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरबारे राष्ट्रिय स्तरमा साझा धारणा बनाउने र न्यूनीकरणका लागि सबै स्थानीय तहको ऐक्यबद्धता जुटाउने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागेको जनाएको छ ।