
विदेशमा गुप्तचरी गर्ने कानुन बनाउन लागेको खबर छ । एउटा जीवी राई कहाँ छ, हल्ला भएअनुसार मलेसियामा छ कि छैन ? छ भने नेपाल ल्याउन किन नसकेको ? आदि प्रश्न उठिरहेका बेलामा दौरा न सौराको खल्ती भन्ने उखान झैं नेपालले मुलुकबाहिर गुप्तचरी गर्ने कानुन ल्याउन लाग्नु आश्चर्य हो ।
गुप्तचर विभाग प्रधानमन्त्री मातहत छ । देशमा अनेक हत्या, बलात्कार, मानवबेचबिखन, लुटपाट, भिजिट भिसाका अनेक काण्ड भइरहेका छन्, त्यसमा गुप्तचरी गर्न नसक्ने गुप्तचर विदेशमा पनि बिस्तार गर्ने भन्नु आफन्त केहीलाई विदेश घुम्ने, जाने अवसर दिनका लागि त होइन ? प्रश्न उठेको छ । जनविचार बुझ्न अपिल गरिएको ‘राष्ट्रिय गुप्तचर तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा नकारात्मक सुझावहरू धेरै गएको बुझिएको छ । यो विधेयक सरकारले संसदमा लानेछ र पास भएपछि राष्ट्रपतिबाट स्वीकृत हुनेछ र त्यसपछि कार्यान्वयनमा जानेछ । आपत्ति त के छ भने यो विधेयकमा नागरिकको फोन वा अन्य सञ्जाललाई निगरानी र अनुगमन गर्नसक्ने उल्लेख हुनु पनि हो ।