राष्ट्रपति, प्रधानमन्त्रीको प्राथमिकता के हुनुपर्छ? देशका जनता दोस्रो वर्षामा रुझेर रोइरहेका छन्, सरकार पीडितका नाममा चीन र बंगलादेशले पठाएको चामलसमेत बेच्न थालेको छ, घर बनाउने आर्थिक सहयोग दिइरहेको छैन। राष्ट्रिय विपद समस्यालाई बेवास्ता गरेर प्रधानमन्त्री पद टिकाउने राजनीतिमा लागेका छन् भने राष्ट्रपति फिल्म हेर्ने, फिल्मी कलाकारलाई सम्मान गर्दे, हाँसो देखाउँदै हिडेकी छिन्। राष्ट्रपति देशको अभिभावकीय जिम्मेवारीका लागि हो। सामान्य स्थितिमा राष्ट्रपतिका क्रियाकलाप जे पनि हुनसक्लान्, मुलुकको असामान्य स्थितिमा, शोक, बाढी पहिरोको थप विपदको समयमा राष्ट्रपति बालबालिकादेखि बृद्धसम्मको बेहाल हेर्न छाडेर, सञ्चारमन्त्रीसम्मलाई साथमा लिएर उत्कृष्ठ अभिनेता, अभिनेत्री छान्न हिड्छिन् भने यो भन्दा दुर्भाग्य अरु के हुनसक्छ?
यो समय बेहाल राष्ट्रको उत्कृष्ठ सेवक को हो भनेर सेवाभाव जगाउने, प्रेरणा दिने र वर्षा, हिउँदपछि फेरि वर्षाको चपेटमा परेका देशवासीमा सहयोग पुर्याउने, बालबनिता, बृद्धहरुको बाँच्ने अधिकार सुरक्षित गर्नेहरुलाई स्वावासी दिने बेलामा देशको सर्वोच्च पदमा आसीन राष्ट्रपति जो महिला छिन् र महिलामा हुनुपर्ने संवेदनासमेत कुल्चेर फिल्मी कलाकारको सम्मान गर्दै हिड्छिन् भने यो कदापि उचित होइन। उचित मान्न सकिन्न। विश्लेषकहरु भन्छन्– सरकारले गलत गर्यो भने निर्देशन दिएर सच्याउनुपर्ने मूली नै गलतबाटोमा।
आफ्नो बिगतको एमाले राजनीति हुनुको धङधङी अझै राष्ट्रपति विद्या भण्डारीले भुल्न सकेको देखिएन। उनले राष्ट्रिय दायित्व निर्वाह गर्न सकिनन्। देशकी छोरी, देशकी आमाको भूमिका बिर्सेजस्तो छ। राष्ट्रपति पदमा त पुगिन्, अझै प्रधानमन्त्री ओलीलाई 'सर' भन्ने र सरकारलाई जिम्मेवारी पूरा गर्नुपर्छ भन्न नसक्नु राष्ट्रपति विद्या भण्डारीको सबैभन्दा ठूलो कमजोरी देखिएको छ।
राष्ट्रपति भण्डारीले असार १६ गते धादिङदेखि गोरखासम्म पहिरोले घेरिएर जनताहरु मर्ने बाँच्ने दोसाँधको आपतमा हारगुहार गरिरहेका दिन 'राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२' बाट नम्रता श्रेष्ठ, दीपेन्द्र के खनाल, भुवन केसी, खगेन्द्र लामिछाने, पुरुषोत्तम प्रधान, सञ्जय लामा, सुरेन्द्र पौडेल, अमृत सुनुवार, बसुन्धरा भुसाललाई पुरस्कृत गरिरहेकी थिइन्। राष्ट्रपतिलाई भूकम्पपीडित भन्दा हिरो हिरोइन मनपर्छ भन्ने टिकाटिप्पणी पीडित जनताबाट सुन्न थालिएको छ।