
झापामा ग्यास सिलिन्डर चुहावट भएर आगलागी हुँदा ८१ वर्षीया वृद्धा घाइते भएकि छन् । आगलागी हुँदा झापा सुरुङ्गाको ८१ वर्षीया वृद्धा बाटुलीमाया दाहाल घाइते भएकि हुन् ।
आज ग्यास सिलिन्डर चुहावट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्दबहादुर खड्काले जनाएका छन् । खड्काका अनुसार कनकाई नगरपालिका–३, सुरुङ्गास्थित ध्रुव श्रेष्ठको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ८१ वर्षीया बाटुलीमाया दाहाल घाइते भएकि हुन् ।
घाइते दाहालले खाना पकाउने क्रममा ग्यास चुहावट हुँदा आगलागी भएको र उनको शरीरको विभिन्न अङ्ग जलेको प्रहरीले जनाएको छ । स्थानीयवासी र इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले उनको तत्काल उद्धार गरी कनकाई नगर अस्पतालमा पुर्याएको थियो ।
कनकाई नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज लगेको प्रहरीले जनाएको छ । आगलागीले कोठाभित्र रहेका अन्नपात र लत्ताकपडा सहित अन्य सरसामान जलेर पूर्णरुपमा नष्ट भएको छ ।
नेपाल प्रहरी, स्थानीयवासी र बरुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताइएको छ ।