
नेपाली समाजमा हरेक वर्ष झैं यसवर्ष पनि आज साउन १५ खीर खाएर मनाइँदै छ । साउनकाे झरीमा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो ।
दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले साउन १५ मा खीर खाने परम्परा बसेको विश्वास गरिन्छ । खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा सनातन शास्त्रमा वर्णन गरिएको पाइन्छ ।
साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिने र हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् र दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।
धार्मिक मान्यता अनुसार साउन भगवान् शिवको महिना भएकाले शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइने र साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने भएपनि कुनै शास्त्रीय वचन भने नभएकाे धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईकाे भनाइ रहेकाे छ ।
नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने भएकाले पनि दूधकाे महत्व रहेकाे पाइन्छ ।