Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आज नागपञ्चमी पर्व मनाइँदै

१४ मंगलबार , श्रावण २०८२एक बर्ष अगाडि

आज नागपञ्चमी पर्व मनाइँदै

आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागकाे तस्विर टाँसेर नागपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन याे पर्व मनाउने गरिन्छ ।

आज घरकाे मुल ढाेकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक मान्यता रहेकाे पाइन्छ । त्यस्तै घरकाे जगमुनि बसेका नाग रिसाए घरको जग भत्किने धार्मिक विश्वासका कारणले गर्दा पनि नाग पूजा गर्ने परम्परा रहेकाे हाे ।

वैदिक सनातनकालदेखि नै नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन रहेकाे छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा समेत मान्ने गरिन्छ ।

नागपञ्चमीकाे अवसरमा आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीदेखि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम समेत सुरु हुने गर्दछ ।

त्यसैगरि वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको धार्मिक विश्वास समेत रहेकाे पाइन्छ ।