
चीनसँगकाे व्यापारीक नाका ताताेपानी भन्सार जाेड्ने अरनिको राजमार्गमा पहिरोका कारण ठप्प भएको छ । रसुवाको केरुङ नाका बाढीले अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका पनि ठप्प भएकाे हाे ।
अाज बिहानै भोटेकोशी गाउँपालिकामा खसेको भीषण पहिरोले राजमार्ग क्षतविक्षत बनाएपछि चीनसँग जोडिएका प्रमुख स्थलमार्ग अवरुद्ध भएकाे छ भने केरुङ नाका र ताताेपानी नाका बन्द भएपछि चीनसँगको सडक सम्पर्क टुटेको छ । पहिराेका कारण तातोपानी नाका हुँदै काठमाडौँ भित्रिन लागेका मालवाहक कन्टेनरहरू भन्सार क्षेत्रमै रोकिएका छन् ।
उक्त क्षेत्रमा काठमाडौँबाट सीमातर्फ जाँदै गरेका र सीमाबाट राजधानी फर्कंदै गरेका यात्रुवाहक बस, निजी सवारीसाधन र एम्बुलेन्ससमेत बीच बाटोमै अलपत्र परेका छन् भने तातोपानी क्षेत्रमा सवारी साधनको लामो लाइन लाग्नुका साथै यात्रुहरू बिचल्लीमा परेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जनाएका छन् ।
बिहीबार बिहान ५ बजे तिरकाे समयमा भोटेकोशी गाउँपालिका-२, कोदारीस्थित इकुमा सडकमाथिबाट पहिरो खसेको र पहिरोले राजमार्गको ५० मिटर खण्ड पूर्ण रूपमा बगाएको छ । माथिबाट चट्टानसहितको लेदो खसेको र तलबाट सडकको आधार नै भासिएकाले पर्खाल नलगाई सडक खुलाउन असम्भव रहेकाे बताइएकाे छ ।
अहिले चीनसँगको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद हुँदा एकातिर अत्यावश्यक सामग्री बोकेका कन्टेनरहरू अनिश्चितकालका लागि रोकिएका छन् भने अर्कोतिर पर्यटकहरूको आवागमनमा समेत गम्भीर असर परेको छ ।