Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

काभ्रेलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरियो

२३ सोमबार , असार २०८२एक बर्ष अगाडि

काभ्रेलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरियो

संघीय राजधानीसंगै जोडिएको काभ्रेपलान्चोक जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका १३ वटै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

काभ्रेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाका रुपमा घोषणा गर्दै जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले जिल्लास्थित जनस्वास्थ्य कार्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

काभ्रेपलान्चोक जिल्लालाई बागमती प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा हिँजो सदरमुकाम धुलिखेलमा घोषणा गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्मको अवधिमा १६ देखि २३ महिनासम्म उमेरका ४ हजार २ सय ४१ बालबालिका तथा १५ महिनासम्मका ४ हजार २ सय ५० बालबालिकाले खोप पाएको सुनिश्चित गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताइएको छ ।

यसअघि नमोबुद्ध नगरका ४ सय १७, भुम्लुका १ सय ४२, मण्डनदेउपुर नगरका २ सय ३६, महाभारतको ४ सय ६५, पाँचखालका ४ सय ४३, पनौतीका ६ सय १० तथा तेमाल गाउँपालिकाको १ सय १३ बालबालिकाले पूर्ण खोप पाएका थिए । त्यस्तै धुलिखेल नगरका ४ सय २८, बनेपाका ७ सय ५८, खानी खोलाका २ सय २५, रोशीका १ सय ९१, बेथानचोकका १ सय ४६ र चौँरी देउरालीका ६७ बालबालिकाले पूर्ण खोप पाएको जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्ष पतिले बताएका थिए ।

खोप सुनिश्चितता गर्न स्थानीय स्वास्थ्य स्वयंसेविकाका र स्वास्थ्यकर्मीले घरदैलो कार्यक्रम संचालन समेत गरेका थिए भने कार्यक्रममा स्थानीय तहका खोप कार्यकर्ता तथा जनस्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । त्यसैगरी जिल्लामा पूर्ण खोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर समेत गरिएको छ ।