Advertisement Banner
Advertisement Banner

२३ सोमबार, असार २०८२16th June 2025, 6:20:04 am

आज हरिशयनी एकादशी तुलसीको बिरुवा सारिदै

२२ आइतबार , असार २०८२२१ घण्टा अगाडि

आज हरिशयनी एकादशी तुलसीको बिरुवा सारिदै

आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको अवसर पारेर सनातन धर्मावलम्बीहरुले घरको आँगनमा तुलसीको बिरुवा सार्दैछन । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा अनुसार आज तुलसीको बिरुवा सार्न लागिएको हो ।

धार्मिक मान्यताअनुसार आज आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने र कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि त्यसै पूर्णिमामा चतुर्मास सम्पन्न हुने मान्यता रहेको छ ।

आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यता अनुसार चार महिनासम्म विशेष मांगलिक कार्य समेत नगर्ने परम्परा रहेको छ भने वर्षभरिमा आउने एकादशी मध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्वका साथ मनाईन्छ । अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा चिनिएको तुलसीलाई आयुर्वेदिक औषधिका रूपमा समेत उपयोग गरिन्छ ।

हरिशयनी एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिन्छ भने एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेहरूको समेत बिहानैदेखि घुइँचो लागेको छ । त्यस्तै ३८ घडी ३३ पला अर्थात् बेलुकी ८ बजेर ४० मिनेटसम्म एकादशी तिथि रहेको पञ्चांगमा उल्लेख गरिएको छ ।