यी दुई कम्युनिष्ट नेतावीच भद्र सहमति भयो। यो भद्र सहमति चीनले गराएको हो। भारतले ओलीलाई फाल्न फाल्न खोजिसकेको थियो, प्रचण्डले चीनको दबाबमा यू टर्न लिँदा ओली सरकार बच्यो। अव ओली भन्छन्– माघ ७ को निर्वाचन गराएपछि मात्र सत्ता छाड्छु। अर्थात अभद्रता सुरु भयो। प्रचण्डका तीर खेर गए, ओली गम्किए, सत्तामा चम्किए। प्रचण्डले सरकार छाडेर सरकार गिराए राजीनामा दिने होइन, चुनाव गएर प्रचण्डलाई जनबलले ढाल्न तैयार भएका छन् ओली।
जब राजनीति बारुद बन्छ, देश त्यो राजनीतिक बारुदमाथि उभिन पुग्छ, अकल्पनीय दुर्घटना निश्चित हुनपुग्छ। बाइरोडको बाटो, सातघुम्तीको मोडमा पुगेको सवारी खलासीले हाँक्यो भने परिणाम के हुन्छ? जनयुद्ध, जनआन्दोलनपछिको परिवर्तनलाई राष्ट्रिय जीवनपद्धति बनाउन जुटेका ठूला दल, ठूला नेताहरुले आफूलाई सफल चालक होइन, खलासीमा परिणत गरे, फलत राष्ट्र दुर्घटनाको मोडमा पुग्यो। दुर्घटना हुन्छ, हुन्छ। किनभने नेताहरु राष्ट्रका नायक र राजनेता बन्न सकेनन्। सत्ता र शक्तिलिप्साका किर्ना बन्नमा रमाइरहे। जनयुद्ध जनआन्दोलनमा होमिएपछि राजनीतिक परिवर्तन त भयो, त्यो ऐतिहासिक परिवर्तनलाई राष्ट्रिय सफलतामा रुपान्तरण गर्ने ल्याकत र हैसियत यिनमा देखिएन। नेताहरु अपराधी, माफिया, तस्कर, भ्रष्टाचारी, असामाजिक तत्वका संरक्षक बनिरहे, जसका कारण जनताले राहत पाएनन्, सुशासन सुरु नै हुनसकेन।
राज्यका प्रत्येक सञ्जालहरुको गतिमति हेर्ने हो भने राष्ट्र जंगलराजमा परिणत भइसकेको छ। बिग्रेको राजनीति र राजनीतिक भागबण्डामा राष्ट्र सञ्चालन गर्नु सबैभन्दा गलत परम्परा बसेको छ। जसका कारण विभेद बढेको छ, समानता र समानुपाति, योग्यताको कदर हुन छाडेको छ। नेताको फेर समाए जे पनि हुने, गम्भीर अपराधमा समेत उन्मूक्ति पाइने भएपछि लोकतन्त्र सराप बन्न पुगेको छ र राष्ट्र असफलताको कृष्णभीरमा पुगेकाले दुर्घटना हुन्छ, हुन्छ।
राष्ट्र संघीयता र धर्मनिरपेक्षता बारुदमाथि उभिएको छँदैछ। यो बाहेक सबैभन्दा ठूलो समस्या बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगमा थुप्रिएका हजारौं पीडितहरुको आर्तनाद बनेको छ। पीडितहरुले न्याय पाउने कि नपाउने? फौजदारी अपराध गर्नेहरुले सजाय पाउँछन् कि तिनलाई आममाफी दिइन्छ? उजूरीकर्तामाथि त्रास फैलाउने कर्म सुरु भइसकेको छ र उजूरी पूर्वराजा, पूर्व प्रधानमन्त्री, नेपाली सेना, प्रहरी, सशस्त्रदेखि माओवादी नेताहरुविरुद्ध परेका छन्। र, राज्य कानुनको आदेश मान्ने बर्गको कुनै गल्ती हुन्न र हुन्छ भन्ने बहस पनि सुरु भइसकेको छ। त्यसमाथि अन्तर्राष्ट्रिय मानवाधिकारवादीहरु नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने अभ्यासलाई दूरविन लगाएर जाँचपरख गरिरहेका छन्। अलिकतिमात्रै तलमाथि भयो र पीडितले न्याय नपाउने र पीडकले माफी पाउने वातावरण बन्यो भने अन्तर्राष्ट्रिय हस्तक्षेप हुने खतरा बढिरहेको छ।
वर्षौंदेखि बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामामाथि बेलायती अदालतमा सुनवाई सुरु भएको छ। यतिखेर नै सुरु भएको यो सुनवाईले बेपत्ता र मेलमिलाप आयोगले सम्पादन गर्ने न्यायविधिलाई थप पेचिलो पारिदिएको छ। सम्भवतः यही बुझेर होला मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले मुख खोले– पीडकलाई दण्ड दिइएन भने धेरै नेताहरुले कर्णेल कुमार लामाको नियति भोग्नुपर्नेछ। \u000aतैपनि निडर भएर प्रधानमन्त्रीले भनेका छन्– कसैले जेल जानुपर्दैन। ज्यानमार्ने अभियोग लागेकाले पनि जेल जानु पर्दैन र आममाफी पाउने हुन् भने अर्को राष्ट्रिय, अन्तर्राष्ट्रिय सुनामी आउनेछ नेपालमा। यसकारण राष्ट्र राजनीतिक बारुदमाथि उभिन पुगेको हो र दुर्घटना हुन्छ हुन्छ।
दुर्घटनाको अर्को कारण मधेसी मोर्चा र जनजातिसहितको संघीय गठबन्धनको आन्दोलन पनि हो। यो आन्दोलन भनेको संविधानविरोधी आन्दोलन हो। संविधान कार्यान्वयन हुननसक्नुको मुख्य कारण ७ महिना लामो आन्दोलन र ५ महिना लामो भारतीय नाकावन्दी पनि हो। यी सबै कारण नेताहरुले बुझेका छन्, हल गर्न नसकेर बुझपचाइरहेका छन्। दुर्घटनाका अनेक काँडाहरु दिनदिनै उमि्ररहेका छन्, बढिरहेका छन्, जिम्मेवार नेतृत्व गर्ने क्षमता विकास नभएका नेताहरु प्राकृतिक विपदाले रोइरहेका जनताका सामु हावाजारी गफ हाँकेर जग हँसाइरहेका छन्। योभन्दा निम्छरो, नादान सरकार, राजनीतिक बर्ग कुनै राष्ट्रमा पनि देख्न सकिन्न। असफल राष्ट्रका सबै विशेषताहरुले युक्त भइसक्यो राष्ट्र, अनि दुर्घटना नभए के हुन्छ?