
ईरान र ईजरायलबीचको युद्ध पछिल्ला दशकहरूमा पश्चिम एसियामा देखा परेको सबैभन्दा खतरनाक तनाव हो । लामो समयदेखि परोक्ष माध्यमबाट लडिँदै आएको यो संघर्ष अब प्रत्यक्ष र राज्यस्तरीय रूपमै बदलिएको छ । अमेरिकाको सहयोगमा इजरायलले जुन प्रकारले ईरानी आणविक संरचनाहरूमा बंकर बस्टर बम र क्रुज मिसाइल प्रयोग गरेर आक्रमण ग¥यो, त्यसले यस युद्धलाई नयाँ र खतरनाक मोडमा पु¥याएको छ । इरानले त्यसको जवाफमा प्रत्यक्ष मात्र होइन, परोक्ष रूपमा पनि विभिन्न मोर्चाबाट कठोर जवाफ दिने संकेत दिएको छ ।
अमेरिकाले यो हस्तक्षेपलाई आणविक प्रसार रोक्ने सुरक्षा उपायका रूपमा प्रस्तुत गरिरहेको भए पनि गहिराइमा हेर्दा यो पश्चिम एसियामा आफ्नो प्रभुत्व जोगाउन र चीन–रुसको बढ्दो प्रभावलाई घटाउन गरिएको रणनीतिक चाल हो । अमेरिकी एकल निर्णय र संयन्त्रलाई चीन र रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र एकपक्षीय हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्, जसले वर्तमान वैश्विक सन्तुलनलाई थप अस्थिर बनाउने देखिन्छ ।
चीनले यस युद्धमा संयमता र वार्ताको पक्ष लिएको छ । उसले पश्चिम एसियाको शान्ति र ऊर्जा आपूर्तिको स्थिरतामा प्रत्यक्ष चासो राख्छ, विशेषतः होरमुज जलडमरूमा संकट देखिएमा त्यसको असर चीनको तेल आपूर्तिमा पर्छ । तर साथसाथै, उसले ईरानसँगको २५ वर्षे रणनीतिक साझेदारीमार्फत यो तनावलाई अवसरमा रूपान्तरण गर्ने सम्भावना पनि देखेको छ । रुसले सुरुमा यस युद्धलाई युक्रेनबाट विश्वको ध्यान अन्यत्र लैजाने माध्यमका रूपमा हेरे पनि अब उसले यसको सम्भावित अस्थिर असरलाई लिएर चासो देखाएको छ ।
दक्षिण एशियामा यसको प्रभाव धेरै संवेदनशील छ । नेपाल जस्ता देश, जुन खाडी मुलुकहरूमाथि श्रम आप्रवासन र इन्धन आपूर्तिमा निर्भर छन् । युद्धका कारण उत्पन्न हुने तेल मूल्यवृद्धि, मुद्रास्फीति र रोजगारी संकटबाट प्रत्यक्ष प्रभावित हुनेछन् । नेपालले हालसम्म असंलग्नताको नीति पालन गर्दै आएको भए पनि विश्व कूटनीतिमा विकसित हुँदै गएको ध्रुवीकरणको बीचमा अब त्यो सन्तुलन राख्न गाह्रो हुनसक्छ । विशेष गरी चीनसँगको आर्थिक सम्बन्ध, भारतसँगको आपूर्ति निर्भरता, र अमेरिकी दबाबबीच नेपालको कूटनीतिक चातुर्यता परीक्षणमा पर्नेछ ।
यस युद्धको लुकेको पक्षमा सूचनायुद्ध, साइबर हमला, इन्धन मार्गको जोखिम र ईरान–चीन–रुसबीचको खुफिया सहकार्य पनि सक्रिय हुँदै गएको देखिन्छ । यी देशहरूले पश्चिमी हस्तक्षेपलाई ‘साम्राज्यवादी नाटक’ को रूपमा विश्व समुदायमा चित्रित गर्न एकीकृत सन्देश प्रणाली प्रयोग गरिरहेका छन् ।
यो केवल इजरायल र ईरानबीचको लडाइँ मात्र होइन, यो नयाँ विश्वव्यवस्थाको संघर्ष पनि हो । एकातिर अमेरिकी नेतृत्वको एकध्रुवीय व्यवस्था छ; अर्कातर्फ चीन र रुसको नेतृत्वमा बहुध्रुवीय, सार्वभौम राष्ट्रहरूको सञ्जाल खडा हुँदैछ, जो शान्ति, स्थापित अन्तराराष्ट्रिय कानुन र विकासमा आधारित सहकार्यलाई बढावा दिन चाहन्छन् ।
नेपालका लागि यो रणनीतिक निर्णयको घडी हो । अबको आवश्यकता हो, तेल आपूर्तिको वैकल्पिक योजना, आप्रवासी श्रमिकहरूको संरक्षण रणनीति, विदेशी सञ्चारको विश्लेषणात्मक निगरानी, र दीर्घकालीन कूटनीतिक सन्तुलन । स्पष्ट, सावधान र सन्तुलित भूमिका नै नेपालको दीर्घकालीन हितका लागि अनिवार्य हुनेछ ।
अन्ततः, यो युद्ध मिसाइल र सैनिक मात्र होइन, सूचना, साख र विश्वव्यवस्थाको पनि युद्ध हो । साना राष्ट्रहरू तब मात्र सुुनिन्छन्, जब उनीहरूले दूरदर्शिता, आत्मसम्मान र सन्तुलनको राजनीति अपनाउँछन् ।