
नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले विगतका वर्ष झैं यो वर्ष पनि वार्षिकोत्सबको अवसरमा सम्मान तथा पुरस्कार अर्पण गर्ने भएको छ । पत्रिकाले कबा साहित्यकार उपचार कोषका सस्थापक सदस्य साहित्यकारहरू मदनराज थापा,चन्द्रा न्यौपाने , विष्णु पन्त र मुरलिप्रसाद ढकाललाई कबा विशिष्ट सम्मान , पत्रिकाका आजीवन सदस्यहरु शम्भु चालिसे र रन्जु खनाललाई कबा सम्मान अर्पण गरिने भएको छ ।
यसैगरी साहित्यिक पत्रकार उद्धव अविचललाई महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार , साहित्यकारहरू राजेशमान केसीलाई नालाङ्ग कबा रचना पुरस्कार २०८१ ( पुरुष ) , प्रीति कौरलाई पुष्कर प्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार २०८१ ( महिला), रामकुमार श्रेष्ठ फुच्चेलाई गङ्गा लिगल कबा रचना पुरस्कार २०८१ (मोफसल ), पुजा शाहीलाई हेमगङ्गा रचना पुरस्कार (बाल), सुरेशचन्द्र घिमिरेलाई भमरकोटे कबा सुसेली पुरस्कार २०८१ ( सुसेली विधा) अर्पण गरिने भएको छ ।
प्रबन्धक वरिष्ठ साहित्यकार गङ्गा पौडेल संयोजक र स्तम्भ कवि त्रिलोचन आचार्य , कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसको आधारमा प्रतिभा चयन गरिएको कबाका सल्लाहकार वरिष्ठ उपन्यासकार शङ्कर भारतीले जानकारी दिनुभयो । सम्मान तथा पुरस्कार आगामी साउन ५ गते पत्रिकाको तेह्रौं वार्षिकोत्सबको अवसरमा अर्पण गरिने पत्रिकाका सहसम्पादक प्रशुराम अधिकारीले जानकारी गराउनुभएको छ ।