Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मौसम बदली र वर्षासँगै गर्मि केहि कम

३० बिहिबार , जेठ २०८२८ महिना अगाडि

मौसम बदली र वर्षासँगै गर्मि केहि कम

केहि दिनदेखि बढेको गर्मि मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः घट्न थालेको छ । देशको विभिन्न भागमा गर्मि नै रहेपनि पूर्वक्षेत्रमा दुई दिन अलि बढी वर्षा भएकाले गर्मि केहि मात्रामा घटेको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताइएको छ । पछिल्लो केही घण्टामा काठमाडौँ उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको र यो क्रम आज र भोलिसम्म रहने महाशाखाले जनाएको छ ।

अहिले ठूलो र देशैभरि एकैनासको वर्षा गराउने प्रणाली नभएको बताउदै महाशाखाले दिउँसोको समयमा भने गर्मी नै महसुस हुने बताएको छ । मनसुन भित्रिने सरदर मिति (जुन १३) आउन एक दिन बाँकी रहेको र यसपालि १५ दिनअघि नै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेपनि पछि पूर्वी एसिया फर्किएको जनाइएको छ ।

त्यसैगरी अहिले देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेकाले कोशी, मधेस, बाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनुका साथै कोशी, मधेस, बाग्मती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ भने पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।