
जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालिन शिक्षा अधिकारी ज्ञानमणि नेपाल भ्रष्टाचारमा तानिएका छन् । विद्यालयको भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उनीसहित नौ जनाउपर मुद्दा दर्ता भएको हो ।
मुद्दा चलाइएकामा तत्कालिन इन्जिनियर बृधन यादव, सब–इन्जिनियर शिवराज राई, लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, कृष्ण उच्च माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक खेमराज मगर, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु टिकाराम राई र हरिनारायण राई र ठेकेदार जयप्रसाद राई छन् ।
जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७, स्थित कृष्णा उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा उनीहरुको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ । अख्तियारका अनुसार चार कोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख रुपैयाँ अनुदान र जनसहभागिताबाट २१ लाख १० हजार ८९२ रुपैयाँ गरी ४५ लाख १० हजार ८९२ रुपैयाँ विनियोजन गरिएको थियो ।
तर, गुणस्तरहीन काम गरेर साढे २५ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबी अख्तियारको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम उक्त रकम जफत गरी कैद र जरिवाना हुन मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा चलाएको हो ।