
काठमाडौं महानगरपालिकाले ‘वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ । महानगर क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापन यन्त्रले प्रदान गर्ने तथ्याङ्क हेर्न उक्त ड्यासबोर्ड सञ्चालनमा ल्याइएको हो ।
महानगरका अनुसार ड्यासबोर्डबाट आम नागरिकले विभिन्न १८ ठाउँमा जोडिएका उपकरणले देखाएको पिएम २.५ र वायु गुणस्तर सूचकाङ्कको विवरणलाई वास्तविक समयमै हेर्न सक्नेछन् । यसबाट अहिले कुन ठाउँमा वायुको गुणस्तर अवस्था के छ ? भन्ने जानकारी सजिलै थाहा पाइने महानगरले जनाएको छ ।
महानगरको वेभसाइटमा नागरिक क्षेत्रभित्र भएका आइकनमध्ये ‘वायु गुणस्तर निगरानी’ मा क्लिक गरेपछि ड्यासबोर्डमा पुगिन्छ । यसको गृहपुष्ठमा स्थानको नाम, वायु गुणस्तर, सूचकाङ्क र नक्सा राखिएको छ । महानगरका अनुसार वायु गुणस्तरको अवस्थालाई विभिन्न ६ वटा रंगले संकेत गरिएको छ ।
जसमा हरियो रंग राम्रो अवस्थाको संकेत हो । पहेँलो रंग मध्यम, सुन्तला रंग बालबालिका, ज्येष्ठ नागरिक, फोक्सोमा समस्या तथा मुटु रोग भएकाजस्ता व्यक्तिका लागि संवेदनशील अवस्थाको संकेत रहेको महानगरको भनाइ छ ।
यस्तै, रातो रंग अस्वस्थ्य, वैजनी रंग गम्भीर र गाढा खैरो रंग जोखिमपूर्ण अवस्थाको संकेत भएकाले संवेदनशील तथा पहिले नै स्वास्थ्य समस्या भोगिरहेकालाई यसबाट जोगिन आग्रह गरिएको छ । ड्यासबोर्डमा प्रत्येक घण्टा र बितेका सात दिनको पिएम सूचकाङ्कका विवरण हेर्न सकिन्छ ।
पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना कणहरु हुन् । यी कण सजिलै फोक्सोमा पुगी रक्त प्रवाहमा मिसिन सक्छन् । जसले श्वासप्रश्वास, हृद्य रोगसहित विभिन्न दीघ रोग निम्त्याउँछ । विश्व स्वास्थ्य संगठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रोग्राम प्रति घनमिटर हुनुपर्ने बताएको छ ।