
बाढीको सम्भावित जोखिम रहेकाे ९ जिल्लामा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पूर्वी तथा मध्य नेपालका ९ जिल्लामा बाढीको सम्भावित जोखिम औंल्याउँदै माैसमा पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेकाे हाे ।
महाशाखाकाे विशेष बुलेटिनअनुसार इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा र सर्लाही तथा आसपासका जिल्लाहरूका साना नदी तथा खोलानालाहरूमा पानीको बहाव आकस्मिक रूपमा बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएकाे हाे । महाशाखाले एक सूचना जारी गर्दै उक्त आग्रह गरेकाे छ ।
त्यसैगरि आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरू कोशी, नारायणी, कर्णाली, महाकालीका साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सामान्यतया सतर्कता तहभन्दा तलै रहने महाशाखाले पूर्वानुमान गरेको छ भने कन्काई, कमला र बागमती नदीमा भने आगामी दिनहरूमा पानीको बहाव केही हदसम्म बढ्न सक्ने आँकलन गरिएको छ ।
उक्त नदीका तटीय क्षेत्रमा बसोबास गर्ने तथा विभिन्न कार्यमा संलग्न नागरिकहरूलाई थप सतर्कता अपनाउन आग्रह गर्दै बाढीसम्बन्धी सूचना तथा जानकारीका लागि नियमित रूपमा महाशाखाको बुलेटिन र सञ्चारमाध्यमहरूमा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।