प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका सक्रिय भएर लागेको आरोप लगाए। जेठ २२ गते शनिवारको एमाले स्थायी समितिको बैठकमै प्रम ओलीले विदेशी जासुसहरु सक्रिय भएको प्रमाण आफूसँग भएको धक्कु पनि लगाए।
धाकभन्दा धक्कु ठूलो, हिड्नलाग्यो खुट्टा लुलो। 'यहाँ केही जासुसहरु डेरा जमाएर बसेका छन्, सरकार सिध्याउन, एमाले कमजोर बनाउन दौडिरहेका छन्। तिनलाई सहयोग हुनेगरी कमरेडहरुले बोल्नु भएन, यसले राष्ट्रियता कमजोर हुन्छ, भारत र अमेरिका राष्ट्रियता कमजोर बनाउन चाहान्छन्।' यसरी पार्टीभित्रै बोलेका ओलीले भोलिपल्टै आफ्नो थुक आफै चाट्नुपर्यो, बोली फिर्ता लिनुपर्यो र भारत र अमेरिकाबारे दुईथान विज्ञप्ति निकालेर
कूटनीतिक रुपमा क्षमायाचना गर्नुपर्यो। भारत र अमेरिकाप्रति कुनै नकारात्मक दृष्टिकोण एमालेभित्र छैन भन्नुपर्यो। सम्बन्धमा नयाँ आयाम सुरु भइसकेको तर्क अघि सार्नुपर्यो। धोती खुस्केपछि स्याहारेको कुरा अमेरिका, भारतले बुझ्दैनन् र?
हाम्रो सरकार र नेता कस्ता? अघिल्लो दिन उछित्तो काढेर भोलिपल्टै एमालेले सरकारलाई अमेरिका र भारतको साथ छ भनेर विज्ञप्तिमार्फत प्रष्टिकरण नै दियो।
वाह एमाले, एमालेको नेतृत्व? काशी काश्मिर अजव नेपाल भनेको यही हो। ओली जिब्रो निकै फट्कार्छन्। उनका मुखबाट निस्केका वाणी सुनेर जनताको हाँसोको पर्रा छुट्ने गरेको छ। उनको हाड नभएको जिब्रो पटक पटक लप्टन बन्ने गरेको छ। यसपटक पनि लप्टन बन्यो, उनको जि्रब्रो लटपटिदा देशले कूटनीतिक जोल्ट र नोक्सानी सहनुपर्यो।
ओली आफूलाई काविल सम्झन्छन्। बुझक्कड ठान्छन् तर उनको काविलियत शासनमा देखिएन, जनताको पीडा र विपतलाई सामना गर्ने सन्दर्भमा पनि असफल भयो। उनी सत्ताको खेलमा सफल भएका छन्, लोकतन्त्र र संविधान कार्यान्वयनमा चिप्लिए। यही हो बाठो खान्छ तीन बल्ड्याङ भनेको।