Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रचण्डले खोजेको तानाशाह कि ज्ञानेन्द्र शाह?

२४ सोमबार , जेठ २०७३८ बर्ष अगाडि

स्वदेशी र विदेशी शक्तिसँग मिलेर ज्ञानेन्द्र शाह फाल्ने माओवादी अध्यक्ष प्रचण्ड अव परोपकारी तानाशाह चाहियो भन्न थालेका छन्। संविधान जारी भयो, कार्यान्वयन गरेर विधिको शासन स्थापित गर्न असमर्थ भएर हार खाएका प्रचण्ड अव बेनिभोलेन्ट लिडरको नेपालीकरण परोपकारी तानाशाहको आवश्यक भएको भन्दै आफै परोपकारी तानाशाह बन्ने आकांक्षी बनेर राजनीतिक थर्कीमा रणनीतिक पासा फेक्न पुगेका छन्। चुनाव गराएर जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्छु भनेर केही समय मागेका ज्ञानेन्द्र शाहलाई निरंकूश शासकका ठाउँमा गणतन्त्र कार्यान्वयन गराउन सफल भएका प्रचण्डको बल्ल चेत फिरेको छ र नेपालको प्रगतिका लागि परोपकारी तानाशाह चाहियो भन्न थालेका छन्।

प्रचण्डको जाली र झेली राजनीतिक खेल अव सिंगापुर र मलेसियाजस्ता मुलुक बनाउने परोपकारी तानाशाह लिक्वान युको नीति खोज्न थालेका छन्। राजनीतिक र कूटनीतिक बृत्तमा भित्रभित्रै नेपालको राजनीतिक स्थिरता, शान्ति र विकासका लागि परोपकारी तानाशाह नै चाहिन्छ भन्ने विषयमा छलफल चल्न थालेको छ।

९ बुँदे देखिने र ३ बुँदे नदेखिने सम्झौताको टेको लगाएर प्रचण्डले ओली सरकारलाई टिकाइदिएका थिए। बजेटपछि प्रचण्डलाई सरकारको नेतृत्व दिने विषयमा प्रम ओलीले कुनै भद्र सहमति भएको छैन भनेर टकटकिएपछि अस्ती आइतवार प्रचण्ड बालुवाटार नै पुगेर ओलीसँग घण्टा लामो गोप्य वार्ता गरेर फर्किए। त्यसपछि प्रचण्ड नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको महाधिवेशनलाई संवोधन गर्न गएका थिए। त्यही मञ्चबाट प्रचण्डले परोपकारी तानाशाहको बारेमा कुरा उठाएपछि प्रचण्डको अभिव्यक्तिको चर्चा भाइरल बनेको छ।

प्रश्न उठेको छ– ज्ञानेन्द्र शाह खोजेको कि तानाशाह? विश्लेषकहरु भन्छन्– २०६३ सालको संसद पुनर्स्थापना र २०६५ साल जेठ १५ गतेपछि धेरै परिवर्तनहरु भए। त्यो परिवर्तन सँगसँगै अहिलेसम्म पनि प्रचण्ड सत्ता निर्माण, सञ्चालनमा किङपिनकै रुपमा रहेका छन्। यिनकै मुखबाट तानाशाहको आवश्यकताको उठान भएपछि संघीयतासहितको गणतन्त्रले यू टर्न लिन लागेको सहज अनुमान गर्न सकिन्छ। प्रचण्डका कुरालाई सिंगापुर र मलेसिया निर्माणमा लिक्वान युजस्ता परोपकारी तानाशाहको भूमिकाबाट प्रभावित भएका प्रचण्डले ठूला राजनीतिक दलहरुवीच सुशासन, शान्ति, विकास र समृद्धिका लागि त्यस्तै मोडलको खोजी बारेमा छलफल चलाएको पर्यवेक्षकीय धारणा छ।

पूर्वराजा नुवाकोटदेखि झापासम्मको भ्रमण गरेर 'मियो' बन्न तैयार रहेको अभिव्यक्ति दिइरहेका बेलामा प्रचण्डले तानाशाहको सवाल उठाएर आगोमा घ्यू थपिदिएका छन् र परिवर्तनकारी राजनीतिले १० वर्षमा मुलुक सम्हाल्न नसकेको आत्मालोचना गरेको रुपमा पनि उनका अभिव्यक्ति लिइएको छ। यसअघि राष्ट्रिय सहमति बनेन भने ठूलो राजनीतिक दुर्घटना हुनसक्ने आशंका प्रचण्डले व्यक्त गरिसकेका थिए। उनको यो आशंका र तानाशाहको कुराले राजनीतिक दलहरुभित्रैबाट बेनिभोलेन्ट तानाशाह जन्मनुपर्ने प्रस्ताव गरेका हुन्। अहिले पनि प्रचण्ड पूर्वराजाप्रति पूर्वाग्रही नै देखिएका छन्।

यद्यपि गणतन्त्र स्थापना भएपछि ज्ञानेन्द्र राजा त जंगलवासतिर लागे, जनताको थाप्लोमा थुप्रै पार्टी राजाहरुले घिरिङ खेलिरहेका छन्। ती राजाभन्दा यी राजाहरु यथार्थमा निरंकूश, भ्रष्ट, अनैतिक र कूशासक बनेको अनुभव छ आम नेपाली जनताहरुको। प्रचण्डकै शव्दमा 'हामीले लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति रगत पसिना बगाएका हौं, सबै पार्टीहरुका वीचमा झगडा मात्रै भइरहने, सधै पावरको निम्ति लुछाचुँडी गरिरहने होहो भने यो स्थिति नेपालमा परोपकारी तानाशाहको आवश्यकता त होइन कतै? नेपालमा हामी भन्दा बाहिर कोही परोपकारी तानाशाहा आउनेवाला छैन। आयो भने निरंकुश तानाशाह मात्र आउनेवाला छ। जसले नेपाली जनताले अहिलेसम्म प्राप्त गरेका उपलब्धीलाई धराशायी पार्ने र देशलाई डरलाग्दो अध्यारोतिर धकेल्ने खतरा छ।'

लोकतन्त्र अव तानाशाह निम्त्याउने मोडमा पुगेछ। सकेनन्, लोकतान्त्रिक परिवर्तन गर्ने नेताहरुले राजनेता बनेर राजनीतिक राजमार्ग खन्न सकेनन्। प्रतिक्षा यतिमात्र छ कि तानाशाह राजनीतिक दलहरुभित्रैबाट जन्मन्छ कि पूर्वराजा परोपकारी तानाशाहका रुपमा निस्ने हुन्। 

सम्भाबना दुबैको छ र लाग्छ, जनतामा बढेको नैरास्यताको लेखाजोखा गर्ने हो र छिमेकीको चाहनाको विश्लेषण गर्ने हो भने पूर्वराजा नै नेपालको भविष्य बनेर उदाउनेवाला छन्। त्यसो त पूर्वराजा भर्खर नुवाकोट भएर झापा पुगेर अस्ति आइतवार राजधानी फिरेका छन्। उनी राजधानीका तीन सहरका देवदेवीको मन्दिर दर्शनका लागि पैदल हिडिदिए भने प्रचण्डले भनेको परोपकारी तानाशाहको स्पष्ट तस्वीर सडकमै देखिनेछ।

होइन, ओलीको काँध फेर्दै प्रचण्ड प्रधानमन्त्री बने भने परोपकारी तानाशाह बन्ने प्रयास गर्ने निश्चित छ। तर, पश्चिम बंगालको ज्योतिबसु शासनजस्तो गर्न प्रचण्डलाई सम्भव छैन। हुन त उनले यसैका लागि माओवादी केन्द्र गठन गरेका हुन् र ओलीको सत्ता निर्माण र केही दिन टिकाएर आफू उभिने धरातल बलियो पारेका पनि छन्।

यथार्थ के पनि छ भने प्रचण्ड तेस्रो पार्टी हुन् र अवको निर्वाचनमा उनको पार्टी योभन्दा तल खस्किनेवाला छ। यी १० वर्षमा प्रचण्डले जनताको पक्षमा कुनै काम गरेकै छैनन् र जनयुद्धकालीन गम्भीर अपराधको भूतले प्रचण्डलाई तर्साएर उज्यालो, अँध्यारो कुन ठाउँमा पुर्‍याउने हो, अहिले नै स्पष्ट भन्न सकिन्न। जेहोस्, प्रचण्डले तानाशाह खोज्ने संकेत गरेका छन्, त्यो तानाशाह प्रचण्ड आफै हुन् कि ज्ञानेन्द्र शाह? केही समयमै स्पष्ट हुने छ।