
नेपालमा हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि अन्तर्राष्ट्रिय तहमा अभियान सुरु गरिएको छ । नेपाललाई पुनः हिन्दु राष्ट्रका रूपमा पुनर्स्थापना गर्ने र राजसंस्था फर्काउने मागसहित अन्तर्राष्ट्रिय तहमा दबाब अभियानका सुरु गरिएको हाे ।
अहिले विगत चार दिनदेखि काठमाडौंमा चलिरहेको आन्दोलनसँगै भारतको राजधानी नयाँ दिल्लीमा पनि गतिविधि सुरू गरिएकाे बताइएकाे छ । ‘नेपाल हिन्दु राष्ट्र पुनर्सथापना मञ्च’ले आइतबार दिल्लीको प्रेस क्लब अफ इन्डियामा पत्रकार सम्मेलनको आयोजना गरि नेपालमा हिन्दु राष्ट्रसहित राजसंस्था पुनःस्थापनाका लागि भारत सरकारसँग समर्थन मागेको हो ।
मञ्चले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूलाई ज्ञापन पत्र पठाएको बताएकाे छ । उक्त ज्ञापन पत्रमा नेपाललाई हिन्दु राष्ट्र घोषणामा सहयोग पुर्याउन कूटनीतिक, नैतिक र रणनीतिक समर्थनका लागि माग गरिएको उल्लेख गरेको छ ।
संस्थाका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डा. विष्णुप्रसाद बरालले गणतन्त्र स्थापनापछि १७ वर्षमा नेपालले राजनीतिक स्थायित्व र समृद्धिको अपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य भएको बताएका थिए । उनले भारत सरकारमार्फत अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गर्न पहल गरेकाे उल्लेख गरेका छन् ।
पत्रकार सम्मेलन कार्यक्रममा समाजसेवी तथा अधिकारकर्मी भोपाल सिंह चौधरी, मञ्चका सदस्य युवराज बराल र पार्वती बमलगायतकाे उपस्थिति रहेको थियो ।