
आज रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले उपत्यकाकाे तीन जिल्लामा सार्वजनिक बिदा दिइएकाे छ । वर्षा र सहकालका देवताकाे रूपमा मनाइने रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्राकाे अवसरमा उपत्यकाकाे तीन जिल्लामा सार्वजनिक बिदा दिइएकाे हाे ।
करिब आठ सय वर्षअघि यस जात्रा जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिन्थ्याे भने यसपर्वमा भूत, प्रेतलाई खाना दिने प्रचलन रहेकाे छ । उक्त जात्रा पछिल्लाे समयमा रातो मच्छेन्द्रनाथको भोटो जात्राको रूपमा मनाइँदै आएकाे हाे ।
भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जनाएका छन् । तर, मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको बताइएकाे छ ।
धार्मिक किंवदन्तीअनुसार यो जात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो ।
त्यसपछि पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थालेकाे बेला मनुष्यरुपी भूत आएर भोटो लगेकाे र किसानले खोज्दा नपाएपछि मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरेकाे तर, भूतले दिन नमानेपछि विवाद भएकाे र त्यसपछि कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाएकाे धार्मिक विस्वास रहेकाे पाइन्छ ।
त्यसपछि आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बसेकाे बताइन्छ । उक्त समयदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास रहेकाे छ भने अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती रहेकाे छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्रपतिकाे उपस्थितिमा भाेटाे जात्रा मनाउँदै आएकाे छ ।