
अहिलेसम्म छाप्न बाँकी रहेका २८ लाख सवारी चालक अनुमतिपत्रको छपाइ अब सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएसंगै बाँकी छपाइको काम मुद्रण केन्द्रले गर्ने भएको हो ।
छाप्न बाँकी सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) को छपाइ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच समझदारी भएकाले अब छपाइको काम सुरक्षण मुद्रण केन्द्रले गर्ने बताइएको छ ।
यसका लागि यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । जसका लागि अहिलेदेखि नै आवश्यक तयारी गरी असारदेखि छपाइ सुरु हुने जनाइएको छ ।
अहिलेको दुई सरकारी निकायबिचको सहकार्यले सवारी चालक छपाइ कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ । समझदारी अनुसार क्यूआरसहितका विभिन्न सुरक्षा विशेषतासहितको लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्र प्रथम चरणको छपाइ गरी विभागलाई हस्तान्तरण गर्नेछ ।
अहिले भएको सवारी चालक अनुमतिपत्र छपाइको समस्यालाई सम्झौताले अन्त्य गर्ने विस्वास सहित सर्वसाधारणले भोग्दै आएको समस्या समाधान हुने विश्वास गरिएको छ ।