
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायको सिफारिसमा तीनवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बिहिवार एक सूचना जारि गर्दै निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको सार्वजनिक गरेको हो ।
अनुगमनको कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी बाँकेको डडुवा गाउँपालिका-५ मा रहेको यज्ञेश्वर निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना बिसीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यसैगरी काठमाडौँ महानगरपालिका-१४ को एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुंगाना र खेमराज आचार्यलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ । त्यस्तै सल्यानको लेख पोखरा-६ को तुलसी निर्माण सेवा र त्यसका मुख्य व्यक्ति पूर्णबहादुर भण्डारीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सुचनामा उल्लेख गरिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेकाहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाएको छ ।