
आज बिहान काठमाडौँको सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ । ग्यास सिलिन्डर लिक भएर आगलागी भएको हो ।
काठमाडौँ महानगरपालिका-१६, सोह्रखुट्टेमा अवस्थित उक्त कलेजको क्यान्टिनमा ग्यास सिलिन्डर लिक भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागीबाट क्यान्टिनभित्र रहेका टेबल, कुर्सी, खाद्यान्न लगायतका सरसामानहरू जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ ।
आगलागीको खबर पाउनसाथ् नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोली र स्थानीय बासिन्दाहरू दमकलसहित घटनास्थल पुगेका थिए । उनीहरुको संयुक्त प्रयासबाट आगलागी थप फैलिन पाएन भने आगलागी नियन्त्रणमा लिइएको छ ।
बिहान करिब ८ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो भने आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ । उक्त आगलागी घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।