जेठ १ गते नुवाकोट पुगेर भैरवी, राम र रुद्रेश्वर महादेवको पूजा गरेर भाकल पूरा गरेका पूर्वराजाले नुवाकोटबाटै भनेका थिए– देशमा शान्ति आउनु पर्यो, जनताले सुख पाउनु पर्यो। त्यसपछि झापातिर लागेका पूर्वराजालाई सिन्धुलीका जनताले रोकेपछि पूर्वराजाले भनेका थिए– अहिलेको खराव स्थितिमा सुधार आउन जरुरी छ। झापा पुगेपछि पूर्वराजाले एकाएक पत्रकार युवराज घिमिरेलाई भेटेर मनका कुरा सार्वजनिक गरेका छन्। पूर्वराजाले आफूलाई आफूलाई संविधानको भन्दा पनि जनताको दूरावस्था र राष्ट्रको विकट अवस्थाको चिन्ता रहको जनाएका छन्। पूर्वराजाले देश जर्जर अवस्थामा पुगेको र जनता बढ्दो समस्याले धर्मराएको आफ्ना विभिन्न जिल्ला भ्रमणको क्रममा जनस्तरमा सुनेको र प्रत्यक्ष देखेको बताएका छन्।
पूर्वराजाले भनेका छन्– प्रजातन्त्रको आडमा सबै बर्ग, समुदाय र सिंगो राष्ट्रलाई समेटेर अघि बढ्नुपर्छ। तर यी सबै राष्ट्रिय आदर्श आज किन भताभुंग हुँदैछन्? राष्ट्र बचाउन, राष्ट्रियताको सम्बर्द्धन गर्न र सबै दुःखदर्द हटाउन दूरदर्शी दृष्टि चाहिन्छ। सही, स्वच्छ र समन्वयकारी नेतृत्व चाहिन्छ। सबैको सर्वमान्य दरो मियो चाहिन्छ। आफूले जनहितका लागि भन्दै राज्यसत्ता छाडेपनि बितेका १०–११ वर्षमा आएका सरकारले राष्ट्रको गहनतम जिम्मेवारी बहन गर्न सकेनन्। गणतन्त्रपछि राजनीतिक दलहरुले जनताको समस्या समाधान गर्न नसकेकोले जनतामा वितृष्णा पैदा भएको र बढ्दै गएकाले राजतन्त्र जनताको मियो बन्न तैयार छ भन्ने संकेत गरेका छन्। पूर्वराजा बोल्दा सिंहदरवार, शितल निवासदेखि संसदसम्म भित्रभित्रै ज्वाराभाटा उठेको छ।
१२ वर्षमा खोला फर्कन्छ भन्ने चलन छ। पूर्वराजालाई नुवाकोट भैरवीले शक्ति दिएकै हो त? पूर्वराजाले अव जनतासमक्ष प्रकट हुने र देशको भार उठाउने तैयारी गरिरहेको रुपमा राजनीतिक चर्चा सुरु भइसकेको छ। एकातिर हिन्दूवाद, अर्कोतिर मधेसतराई जनजाति गठबन्धनको आन्दोलन, असरल्ल देशलाई सम्हाल्न खोजे पूर्वराजाले।