
काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको हरियो धनियाँमा अत्याधिक विषादी भेटिएको छ । काभ्रेपलाञ्चोकबाट बिक्रीका लागि ल्याइएको उक्त धनियाँमा लगभग शतप्रतिशत मात्रामा विषादी पाइएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज विभिन्न १७ वटा तरकारीको विषादी परीक्षण गरिएको थियो ।
त्यसमध्ये काभ्रेबाट भित्रिएको हरियो धनियाँमा ९९ दशमलब ३७९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको समितिले जनाएको छ ।
उक्त धनियाँलाई नष्ट गरिएको समितिको भनाइ छ । कालीमाटी तरकारी बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको परीक्षण हुँदै आएको छ ।
यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोग्य योग्य, ३५ देखि ४५ प्रतिशतसम्म रहेमा केही दिन राखेर खान मिल्ने र सोभन्दा बढी भेटिए खान अयोग्य मान्ने गरिन्छ ।