बर्थडे केकको मिठास तिक्ततामा बदलियो, एकदोस्राप्रतिको आडभरोसाको कडी खुस्कियो
माधवकुमार नेपाल पक्षलाई सत्ता र शक्तिको भाग नदिने र आफ्नै पक्षकालाई मात्र पोस्दै जाने हो भने केपी ओलीको एकलौटी र एकलकाँटेपनले उनी एमालेभित्रै हराउन सक्छन्। अहिले पार्टी र सरकारमा बहुमतको प्रभावमा जाज्वल्लयमान देखिएका ओलीप्रति पार्टीभित्र र माओवादीलेसमेत शंकाको दृष्टिले हेर्न थालिसकेका र सहयोगी दलहरुलेसमेत ओलीको कार्यशैलीप्रति चित्त दुखाउन थालेका छन्। ओलीको दबदबा दलदलमा फस्नसक्ने आँकलन सुरु भइसकेको छ। त्यसो त प्रचण्डसँगको सहमतिले कांग्रेसको रणनीतिलाई असफल पारेर आफ्नो नेतृत्वको सत्ताको म्याद केही समयका लागि बढाउन सफलता हासिल गरेका ओली जुन दिन सत्ताबाट झारिन्छन्, त्यसदिन उनको पार्टीभित्रैबाट पनि विरोधको लहर सुरु देखिन्छ। यद्यपि माधवकुमार नेपालले मेची महाकालीसम्मका कार्यकर्ता पंक्तिमा केपी ओलीको नेतृत्व गलत साबित गर्न जागरण र संचेतन अभियानको थालनी गरिसकेका छन्।
रमाइलो परिदृश्य के पनि देखिन्छ भने अप्ठेरो पर्यो कि एकदोस्राका घरमै पुगेर सल्लाह गर्ने केपी ओली र माधवकुमार नेपालवीच अहिले हानाहानको स्थिति विकसित हुनपुगेको छ। यिनहरुवीचको वर्तमान एकदोस्राप्रतिको कटाक्ष सुन्ने हो भने लाग्छ– तु नही कि मै नही – को स्थिति आइसकेको छ। केही समयअघिमात्र सँगै बर्थडे केक स्वादले खाएका यी दुबै नेतावीच केकेको स्वाद बढी गुलियोका कारण शक्ति र सत्ताको तीतो बढी देखिन थालेको छ।
सरकार र पार्टी गुट चलाएजस्तो भयो भनेर बरिष्ठ नेता माधवकुमार नेपाल देशव्यापी कार्यकर्ता भेला गर्न थालेका छन्। माधवकुमार नेपालले संसदीय समितिको सभापति चयन, सुकुम्बासी आयोगको अध्यक्ष चयन, २६ सभासदको मनानयन, मन्त्री, राजदूत र विभिन्न मनोनयनमा गरेको आफ्नालाई मात्र पोस्ने एकलौटीपन र पार्टी सञ्चालनमा स्थायी समितिको समेत बेवास्ता गरेको विषयमा तीब्र असन्तुष्टी जनाएर ओलीको गुटबाजी चलिरहेको आरोप लगाएका हुन्।
यतिखेर एमालेका मुख र मुखपत्रहरुमा समेत केपी र माधववीच सार्वजनिक कार्यक्रमदेखि टेलिफोन वार्तामा समेत भनाभन हुनथालेको देखिन्छ, सुनिन्छ। झगडाकै कुरा गर्ने हो भने वामदेवले माले गठन गरेजस्तो पार्टी फूटको संघारमा पुगिसकेको छ भन्न थालिएको छ। तर, माधव र ओली पार्टी फुटाइहाल्छन् भन्नेमा कसैले विश्वास गरेका छैनन्। यथार्थमा माधवकुमार नेपाललाई माइनस गरेर उनका सिफारिसहरुलाई बेवास्ता गर्नु र ओली जिन्दावाद भन्नेलाई मात्र काखी च्यापेर अघि बढ्नु केपी ओलीको व्यक्तिवादी निरंकूशता मानिएको छ।
केपी ओलीका वरिपरि व्यापक गुण्डाटाइपका मान्छेहरुको भीड जम्मा हुने गरेका छन् र तिनकै कुरा सुन्ने गरेकाले पनि माधव नेपाल ओलीप्रति आक्रोसित हुन पुगेका हुन्। त्यसो त अर्का बरिष्ठ नेता झलनाथ खनालले समेत ओलीप्रति असन्तुष्टि व्यक्त गरेर माधव नेपालकै पक्ष लिनुले मतभेदको बढोत्तरी भइरहेको छ र केपी ओली पार्टीमा अलोकप्रिय बन्दै गएका देखिन्छन्। पार्टीका बरिष्ठ नेताद्वयलाई पुछि फाल्ने जुन नीति लिएका छन् ओलीले यही नीतिका कारण आलोच्य बन्दै गएका ओलीलाई खनाल र माधवले पहिलो झट्का त दिइसके, अर्को झट्का दिए भने के होला? दादाहरु पालेर दादागिरी गरिरहेका केपी ओली यतिखेर महाभारतको धुतराष्ट्र बनेको आरोप छ माव नेपाल पक्षधरहरुको।