
चितवनको भरतपुर महानगरपालिका–२५, किसान चोकमा दुई बालबालिकाको हत्या गरिएको छ । धारिलो हतियार प्रहार गरी ४२ वर्षीय लीलाराज गिरीले भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् ।
आज बिहान ९ : ४५ बजे तिरको समयमा धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरेका गिरीले आफूलेसमेत आत्महत्याको प्रयास गरेको बताइएको छ । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई आक्रमण गरेका गिरीले आक्रमणपछि आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
गिरीले आफ्नै सात वर्षीय छोरी प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जनाएका छन् । त्यसपछि गिरीले उक्त खुर्पा आफैँमाथि प्रहार गरेको समेत प्रमुख प्रहरी उपरीक्षक पुरीले जानकारी दिएका छन् ।
प्रमुख प्रहरी उपरीक्षक पुरीकाअनुसार घटनालगत्तै तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको छ भने पूर्वसैनिक समेत रहेका गिरिको मानसिक सन्तुलन ठीक नभएका प्रारम्भिक रूपमा बुझिएको बताइएको छ ।