
झण्डै एक महिने लामाे शिक्षक आन्दोलनका कारण प्रभावित भएको विद्यार्थीको पढाइलाइ बिदामा परिपूरण गरिने भएको छ । प्रभावित भएको विद्यार्थीको पढाइ हिउँदे वा वर्षे बिदामा पठनपाठन सञ्चालन गरेर परिपूरण गरिने भएको हाे ।
नेपाल शिक्षक महासंघले आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे बिदामा पठनपाठन सञ्चालन गरेर विद्यार्थीको पढाइलाइ परिपूरण गर्न निर्देशन दिएको छ । यसअघि नेपाल शिक्षक महासंघकाे नेतृत्वमा गत २० चैतदेखि २९ दिन काठमाडौँमा सडक आन्दोलन गरेको थियो ।
महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले शैक्षिक हड्ताल गर्दा पठनपाठन प्रभावित भएको थियो । सरकार र महासंघबीच वैशाख १७ गते ९ बुँदे सहमति भएपछि आन्दोलन रोकिएको थियाे ।
वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएपनि हडतालको कारण भर्ना अभियानसमेत प्रभावित भएपछि अहिले भर्ना अभियान चलिरहेको र विद्यार्थीको हात हातमा किताब पुर्याउने काम पनि भइरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएकाे छ ।