
आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले क्रिकेट विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको घोषणा गरेको हो ।
नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि १५ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ ।
त्यसैगरी दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ भने विकेटकिपर द्वय आसिफ शेख र अनिल कुमार शाह तथा ब्याटरमा कुशल भुर्तेल, भीम सार्की र आरिफ शेख रहेका छन् । अलराउन्डर गुलशन झा र बसीर अहमदले पनि टोलीमा स्थान बनाएका छन् ।
त्यस्तै बलरहरू सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी रहेका छन् । नेपालले स्कटल्याण्ड भ्रमणमा लिग–२ अघि स्कटल्याण्ड ए सँग दुई अभ्यास खेल खेल्ने छ भने लिग–२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्ने खेल तालिका रहेको छ ।
त्यस्तै क्यानले लिग–२ अन्तर्गत सिरिजपछि हुने टी–२० आई सिरिजका लागि पनि ३ जना खेलाडीको नाम राखेको छ । जसको ब्याटरमा किरण ठगुन्ना र लोकेश बमसँगै अलराउन्डर रुपेश सिंह रहेका छन् ।