
आगामी पाँच वर्षभित्र नेपालमा कृष्ठ रोग पूर्ण रुपमा नियन्त्रण गरिने भएको छ । कुष्ठ रोगको उन्मूलन तथा कुष्ठ प्रभावित व्यक्तिमाथि हुने भेदभावविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलनमा यस्तो संकल्प लिइएको हो ।
सम्मेलनमा सहभागी सरकारी उच्च अधिकारी एवं सम्बद्ध विज्ञहरुले आगामी पाँच वर्षभित्र नेपालमा कुष्ठ रोग पूर्ण रुपमा निवारण गर्ने र त्यसका लागि राज्य र नागरिकस्तरवाट कानूनी एवं अन्य अभियानका कुनै पनि कार्यमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कुष्ठरोग निवारण र योबाट हुने विभेद अन्त्यका निम्ति संघीय सरकारबाट जति सामाजिक जनचेतना आवश्यक छ, त्यत्तिकै प्रदेश र स्थानीय सरकारले पनि नीति तथा कार्यक्रममार्फत विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
सम्मेलनमा सहभागीहरुले अहिलेसम्म केन्द्र सरकारले मात्र कुष्ठ रोग नियन्त्रण प्राथमितामा राखेको तर प्रदेश र स्थानीय सरकारले चासो नदिएको गुनासो गर्दै तीन वटै सरकारलाई यसविरुद्ध एकजुट हुन आह्वान गरे । उनीहरुका अनुसार १४ वर्ष मुनिका बालबालिका र महिलाहरुमा अहिले पनि कुष्ठ रोगको संक्रमणको दर बढ्दो क्रममा छ ।
कुष्ठ रोग लागेका र यसबाट मुक्त भइसकेकाहरुप्रति समुदाय तहमा विभेद हुने गरेको उल्लेख गर्दै उनीहरुले यस्ता विभेद र अन्धविश्वास हटाउन समुदायस्तरवाटै प्रभावकारी सचेतना जरुरी रहेको बताए । कुष्ठ रोग प्रभावितहरुलाई समाजमा पुनःस्थापनाका लागि सामाजिक चेतनासहित स्थानीय सरकार, नागरिक संगठन र समुदायलाई सहयोग पुर्याउन आग्रह गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ । कानूनी रुपमा देखा परेका जटिलता पनि पहिचान गरी सुधारका लागि पहल गर्ने संकल्प सम्मेलनमा सहभागीहरुले गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन गरिएको दुई दिने सम्मेलनमा सरकारका उच्च पदस्थ अधिकारी, स्थानीय सरकारका जिम्मेवार अधिकारी, कुष्ठ रोग निवारण र विभेद अन्त्यका लागि क्रियाशील सरकारी निकाय, गैसरकारी निकाय, दातृ निकायका अधिकारीहरुले सन् २०३० सम्म कुष्ठ रोग नियन्त्रण र यसबाट पीडितमाथि हुने बिभेद अन्त्यका निम्ति आआफनो स्थानवाट प्रभावकारी भूमिका खेल्ने बताएका छन् ।
सासाकावा लेप्रोसी इनिसेटिभ्, नेपाल कानुन समाज, विश्व स्वास्थ्य संगठन नेपाल, कुष्ठरोग मिसन नेपाललगायत संस्थाको सहकार्यमा भएको सम्मेलनमा कुष्ठ रोग निवारणका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा संलग्न संघसंस्थाका विशेषज्ञ र जानकारसहित झण्डै तीन सय जना सहभागी भएको कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा कुष्ठ रोगको उच्चदरबाट प्रभावित छानिएका स्थानीय तहबाट भएका असल अभ्यास तथा चुनौति, भेदभाव न्यूनीकरण तथा मानवअधिकारसम्बन्धी विषयमा छलफल गरियो । मानिसको छालामा फ्रूस्रो दाग देखिने र वरिपरिको भागलाई नष्ट गर्ने कुष्ठ रोग समयमै पहिचान र उपचार नभए व्यक्ति अपाङ्गता हुने सम्भावनासमेत रहन्छ ।
कुष्ठरोग सजिलै निको हुने र कम सर्ने भएपनि यसका प्रभावितहरु समाजमा अपमानको सिकार हुन बाध्य छन् । नेपाली समाजमा कुष्ठरोग शारिरिक समस्या मात्र नभई व्यक्तिको सामाजिक जीवनमा समेत असर पार्ने रोगका रुपमा रहेको छ । मुलुकमा प्रत्येक वर्ष झण्डै २९ सय कुष्ठ रोगका नयाँ बिरामी देखा पर्ने गरेका छन् ।
हाल नेपालमा करिब दुई लाखको संख्यामा कुष्ठरोगका बिरामी रहेकोमा ३० हजार अपाङ्गता अवस्थामा रहेको अनुमान गरिएको छ । विश्वव्यापी लक्ष्यअनुरुप नेपालले सन् २०३० भित्र यो रोग उन्मूलन गरिसक्नुपर्ने छ ।