
हरेक वर्ष झैं वैशाख २६ गते मनाइने कानुन दिवस आज मनाउन लागिएकाे छ । न्यायमा सबैको पहुँच सुनिश्चित गर्न न्यायपालिकाप्रतिको जनविश्वासलाई बलियाे बनाएर न्यायिक सुशासनमा जाेड दिँदै ७३औँ कानुन दिवस मनाउन लागिएकाे हाे ।
विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा याे दिवस मनाउन सुरू गरिएकाे थियाे । याे दिन कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि विशेष दिन समेत हाे ।
त्यसैगरि २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा अहिलेको सर्वोच्च अदालतको स्थापना भएको थियाे । न्यायपालिकालाई कार्यपालिकाबाट स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना गरि आधुनिक न्याय प्रणालीको सुरूवात सोही दिनदेखि भएको मानिन्छ ।
आज सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विशेष कार्यक्रम आयाेजना गरी ७३औँ कानुन दिवस मनाउने तयारी रहेकाे बताइएकाे छ ।