
काठमाडौं । भारतले पाकिस्तानका नौ स्थानमा गरिएको आतंककारीविरुद्धको “अपरेशन सिन्दूर” मा नेपाल–भारत खुला सीमा संवाद समूहले पूर्ण समर्थन प्रकट गरेको छ ।
समूहका केन्द्रीय अध्यक्ष डा.राजीव झाले बुधबार प्रेस विज्ञप्ति जारी गरी पूर्ण समर्थन रहेको जनाएका छन् । ‘यस अपरेशनअन्तर्गत भारतीय सुरक्षा फौजले आतंकवादको जरो उखेल्ने प्रयासस्वरूप ती स्थलहरूमा रहेको आतंकवादी अड्डाहरूलाई लक्षित आक्रमण गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी विशेष रूपमा स्मरण गराउन चाहन्छौं कि ती आतंकवादीहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र भारत तथा अन्य मुलुकमा ठूला आतंकवादी हमला गर्ने योजनामा संलग्न थिए ।’
खुला सीमा सम्वाद समूहले भारतीय कारबाहीप्रति नेपाल सरकारसँग पनि समर्थन जनाउन माग गरेका छन् । ‘आतंकवाद कुनै देश, धर्म वा समुदायको पक्षमा छैन — यो सम्पूर्ण मानव जातिका लागि खतरा हो ।’ उनले भनेका छन् ।
नेपाल सरकारले यस आक्रमणबारे बोलेको छैन । गृह मन्त्रालयमा सुरक्षा बैठक भने भइरहेको छ । सीमामा सुरक्षा कडा पारिएको छ ।