
अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेकाले काठमाडौंलगायत देशका विभिन्न स्थनमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावकाे कारण माैसममा परिवर्तन आएकाे हाे ।
देशकाे विभिन्न भागमा अझै तीन दिनसम्म पानी पर्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विभागलेले आग्रह गरेको छ । विभागले तीन दिनसम्म पानी, चट्याङ र हिउँ पर्ने तथा हिमाली भेगमा हिउँ पर्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हाे ।
आज बिहानैदेखि बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोसी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिनभरी नै मौसम बदली रहनुका साथै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भूभागका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने बताइएकाे छ ।
त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने भारी वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । हिमाली भेगका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे छ ।
विभागलेले आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सम्भावित बाढी, पहिरो तथा यातायातमा अवरोध जस्ता जोखिमप्रति सचेत रहन समेत सबैलाई आग्रह गरेकाे छ ।