
अविरल वर्षाका कारण हेटौँडा-काठमाडौँ जाेड्ने कान्ति लोकपथ र पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा रहेको बागमती खोलामा अविरल वर्षापछि आएकाे बाढीले डाइभर्सन बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको हाे ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार डाइभर्सन बगाएपछि आज बिहानदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको र प्रहरी टोली घटनास्थलमा खटिएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाे बताइएकाे छ ।
त्यसैगरि निरन्तरको वर्षाका कारण सडक विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डकाे दाउन्ने क्षेत्रमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको छ । उक्त क्षेत्रमा सवारी चिप्लिन थालेपछि सडक अवरूद्ध भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जनाएका छन् ।
गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न आग्रह गरिएकाे छ ।