
सरकार र नेपाल शिक्षक महासंघबीच अस्ति राति भएको नौ बुँदे सहमतिप्रति असन्तृष्ट विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ ।
महासंघले रहस्मय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको निचोड निकाल्दै परिषद्ले आज विज्ञप्तिमार्फत आन्दोलनको विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।
बब्बन मिश्राको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको छ । जसअनुसार आइतबारदेखि सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षा अवधिभर कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने परिषद्ले जनाएको छ ।
जेठ ४ गते ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनबारे जानकारी गराउने तथा ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गरिने छ ।
यस्तै, जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई तथा ७ गते सातै प्रदेशको सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउने र ९ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने परिषद्को तालिका छ ।