
आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । बोर्डको बैठकले परीक्षा नरोक्ने जनाउदै सबै जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।
कक्षा १२ को परीक्षा यही वैशाख ११ गते बिहीबारदेखि सञ्चालन गर्ने तयारी रहेकोमा शिक्षकहरू २१ दिनदेखिको आन्दोलनमा रहेको र हिँजो शिक्षामन्त्रीको राजीनामा आएसँगै कक्षा १२ को परीक्षा सर्ने आशंका गरिएको थियो ।
बैठकले साढे ५ लाख विद्यार्थीको भविष्य यससँग जोडिएकाले शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दै बोर्ड अध्यक्ष महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु आन्दोलनरत रहेपनि सरकार र शिक्षक महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटकको संवादमा सहमति जुट्न नसकेको अवस्थामा शिक्षकहरू कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भएपनि परीक्षा सञ्चालन गर्ने निष्कर्षमा बोर्ड पुगेको बताइएको छ ।