
तनहुँमा माइक्रो बस र स्कुटर एकापसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ । आज मध्यान्ह सवा १२ बजे भानु नगरपालिका–१०, नेपालडाँडास्थित डुम्ने वेशीशहर सडकखण्ड हुँदै लमजुङ गइरहेको बा २ ख ४०२२ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको ग २६ प ४०५८ नम्बरको स्कुटर ठोक्किदा उनीहरुको निधन भएको हो ।
मृत्यु हुनेमा स्कुटरको पछाडि सवार मनाङको नासों गाउँपालिका–८, घर भएका ४० वर्षीय मन घले र माइक्रोमा सवार लमजुङको वेशीशहर नगरपालिका–८, बस्ने ३२ वर्षीया अनिता थापा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारको क्रममा निधन भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा स्कुटर चालक लमजुङका ४१ वर्षीय दिपेन्द्र श्रेष्ठसहित १४ जना घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरुको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यद्यपि, अवस्था सामान्य रहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।