
रौतहटको गौरमा भन्सार छलीको अवैध सामान बोकेको टेम्पो सहित चालक पक्राउ परेका छन् । प्रहरी गस्ती टोलीले गौर स्थित बसपार्कमा भन्सार छलीको अवैध सामान सहित चालकलाई पक्राउ गरेको हो ।
सिमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छली ल्याएको ४ लाख २९ हजार ९ सय २० रुपैयाँ बराबरको कपडा, किराना, भाँडा बर्तन बोकेको ना २ ह ४६६० नम्बरको टेम्पो सहित चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा परोहा नगरपालिका ४ का ३० वर्षीय उमेश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायकाअनुसार बरामद सामान सहित टेम्पो र चालक यादव लाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ । हाल उक्त नाकामा सञ्चालन गरेको तस्करी नियन्त्रण अभियान अन्तर्गत करोडौँको भन्सार छलीको सामान, दर्जनौँ सवारी साधन र तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ ।