देशमा शान्ति आउनु पर्यो, जनताले सुख पाउनु पर्यो। पूर्वराजाको ताजा अभिव्यक्ति यही हो। जेठ १ गते नुवाकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाएका छन्। पूर्वराजाले नुवाकोटको बट्टारमा पुगेर पत्रकारहरुसँग भनेका छन्– 'तपाईंहरुलाई देशको अहिलेको परिस्थितिबारे थाहा छँदैछ, देशमा शान्ति आउनुपर्यो। सबैले सुख पाउनुपर्यो। अहिलेको खराव स्थितिमा सुधार आउन जरुरी छ।
भैरवी, राम, रुद्रेश्व महादेव मन्दिरमा पूजाआजामा सरिक हुन पुगेका पूर्वराजा आएको थाहा हुनासाथ जनता घरघरबाट निस्किएका थिए। जनताले जयजयकारको नारामात्र लगाएनन्, राजा आउ देश बचाउ पनि भने। लोकतन्त्रका लोकले राजा गुहारेको दृश्य यति सहज थियो कि लोकतान्त्रिक नेता र सिंहदरवारको लोकसरकारले कुनै असहजता अनुभव गरेको देखिएन।
हुन पनि पूर्वराजाले अहिलेसम्म देखिने गरी राजनीति गरिरहेका छैनन्। जनताले खोजे म यहीँ छुसम्म भनेका छन् र कहिले कहिले मन्दिरतिर देखिन्छन्। पूर्वराजालाई देख्ने वित्तिकै जनता यसैगरी हारगुहार गर्ने गर्छन्। निश्चय नै जनताको यस्तो नियति भनेको लोकतान्त्रिक नेताहरुको राजनीतिक असफलता हो।
नुवाकोट पुगेकापूर्वराजाले आफूलाई भेट गर्न आएका आमनागरिकसँग भलाकुसारी गरे। एउटी बृद्ध महिलाले पूर्वराजालाई भेट्ने घिस्रेर आएको देखेपछि पूर्वराजा बुढी आमाकै छेउ पुगे, पूर्वराजाको हात समातेर बुढी आमाले भनिन्– फेरि राजा हुनु। बुढी आमाको आशीर्वाद सुनेपछि पूर्वराजाले कुनै जवाफ दिएनन्।
पूजाआजापछि भाकल पूरा भएकोमा प्रसन्नचित्त देखिएका पूर्वराजा ज्ञानेन्द्रले भने– देशमा अनिष्ट नहोस्। मेरो भाकल थियो, कतिपय पूरा भयो, कतिपय पूरा हुन बाँकी छन्। के भाकल रहेछ पूर्वराजाको, यो भने उनले बताएनन्। तर जनताले सुख पाउनु पर्यो भनेपछि पूर्वराजाको भाकल शान्ति, स्थिरता र प्रगति नै हुनुपर्छ भन्ने धेरैको अनुमान थियो। पूर्वराजाको नागरिकहरुले स्वागत गरेको दृश्य अचम्मलाग्दो थियो। आज पनि पूर्वराजाप्रति जनताको यतिठूलो विश्वास, लगाव र आकर्षण?
किन लोकनेताहरुप्रति जनताको घृणाभाव छ? किन किनारा लागिसकेको राजतन्त्रलाई जनता खोजिरहेका छन्? यी यस्ता सवाल हुन् जसको जवाफ समयले खोज्न थालिसकेको छ। आन्दोलन, द्वन्द्व बढ्ने खतरा र संविधानको कार्यान्वयन नहुनुलाई विश्लेषण गर्ने विश्लेषकहरु भन्छन्– राजनीतिले यू टर्न लिनसक्छ। हुन पनि दिल्लीको सक्रियता, पार्टीहरुवीचको बढ्दो अविश्वास र बिग्रदो सहमतिको माहोल सम्हाल्न सक्ने नेतृत्वको खाँचो हेर्दा लाग्छ, नेपालमा अर्को राजनीतिक दुर्घटना हुनेवाला छ। त्यो कस्तो हुन्छ, त्यसको लेखाजोखाको अनुमान गर्न कठिन छ।