
विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको छ । स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था ‘आईक्यू एअर’का अनुसार लगातार पछिल्लो तीन दिनदेखि काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा परेको हो ।
आज काठमाडौंको वायु गुणस्तर २ सय ४८ एक्युआइ मापन गरिएको छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक र १ सय ५० भन्दा माथिलाई अस्वस्थकर मानिन्छ । एक्यूआई १ सय ५० देखि २ सय हुँदा श्वास प्रश्वाससम्बन्धी समस्या भएका र पाका उमेरका मानिसलाई असर गर्ने विज्ञहरु बताउँछन् ।
त्यस्तै २ सय १ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढाउँछ । आज पनि अत्यधिक वायु प्रदूषणको प्रभावले काठमाडौंको मौसम खुलेको छैन । तीव्र गतिको हावा र वर्षाको सम्भावना नरहेकाले तत्काल प्रदूषण घट्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागकोे मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।