
प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदैछन् । आज दिउसो थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्न लागेका प्रधानमन्त्री ओली चैत २३ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा बैंककमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
भ्रमणको पूर्वसन्ध्यामा उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, साथै विभिन्न पूर्व परराष्ट्रमन्त्रीहरू सँग छलफल गरेका थिए । नेपाल सरकार, मन्त्रिपरिषद्को चैत ११ गते बसेको बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृति गरेको थियो ।
प्रधानमन्त्रीको टोलीमा परराष्टमन्त्री डा. आरजू राणा देउवा, मुख्य सचिव एकनारायण अर्याल, प्रधानमन्त्रीका दुई जना सल्लाहकार विष्णु रिमाल र युवराज खतिवडा सहभागी रहने बताइएको छ ।