Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

पुननिर्माणको जिम्मा यिनलाई दिए कसो होला?

०३ सोमबार , जेठ २०७३१० बर्ष अगाडि

डा.विनिता:-
भूकम्प गएको वर्षदिन नाघिसक्यो, सरकारले पाइलै सार्न सकेन। कांग्रेसले गठन गरेको पुननिर्माण प्राधिकरणको नेतृत्वमा एमालेले आफ्ना कार्यकर्ता सुशील ज्ञवालीलाई नियुक्ती गर्‍यो, उनले पनि कुनै लछारपाटो लगाउन सकेनन्। बल्ल सरकारले निजी घर २ वर्षमा, स्वास्थ्यचौकी, विद्यालय ३ वर्षमा र सांस्कृतिक धरोहर ५ वर्षमा सम्पन्न गर्न ८ खर्ब ३८ अर्वको खाका वैशाख ३० गते संसदमा पेश गरेका छन्। सुरुमा ६ खर्ब नोक्सानी भएको भनियो, अहिले झण्डै साँढे ८ खर्बको खाका ल्याइयो, यसको कार्यान्वयन हुनेबेलासम्म यो अर्को मेलम्ची आयोजनाजस्तो सपना आयोजना हुनसक्छ। किनकि सरकारसँग न कार्यक्षमता छ, न खर्च गर्ने हैसियत। सामान्य बजेटको तलव खान जान्ने तर विकास बजेट खर्चै गर्न नसक्ने भ्रष्ट, अल्छी र कामजोर कर्मचारीतन्त्र बोकेर बसेको सरकारले भूकम्पको पीडामाथि पीडा थपिरहेको छ, जनतालाई राहत दिन र जनताको सरकार हो भन्ने अनुभूति दिलाउनै सकेन। सरकारप्रति जनविश्वास र आस्था घट्दै गएको छ। जनताले सरकारबाट सहयोग पाइन्छ भनेर आश मारिसकेका छन्।
यसरी सरकारले जनताको पीडामा नूनचुक दलिरहेको बेलामा कलाकार दम्पत्ति धुर्मुस र सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे)ले दोस्रो एकीकृत बस्ती सिन्धुपाल्चोकको गिरानचौर गाउँ निर्माण गर्न आफैले डोको बोकेर अघि सरेका छन्। यिनले भूकम्पपीडितका लागि बस्ती निर्माण गर्न धुर्मुस सुन्तली फाउण्डेशन नै बनाएका छन् र यिनको जनसेवाप्रतिको लगन, इमानदारिता देखेर फाउण्डेशनमा सहयोग गर्नेहरु अग्रस्थानमा आउन थालेका छन्। गिरानचौरको ६५ परिवारका लागि घर निर्माण गरेर दशैको फूलपातीका दिनमा उपलव्ध गराउने यिनको स्पष्ट लक्ष्य र ध्येय रहेको छ।
धुर्मुस र सुन्तली हास्य कलाकार हुन् तर यिनको काम सरकारको भन्दा महत्वपूर्ण देखिन्छ। सरकार र पुननिर्माण प्राधिकरणचाहिँ हास्यपात्र बनिरहेको छ। यतिखेर देशविदेशमा बसोबास गर्ने नेपालीहरु भनिरहेका छन्– धुर्मुस र सुन्तली किन नेता बनेनन्? नेता बन्नुपर्नेहरु कलाकार बनेका छन्, हास्यपात्रहरु राजनीतिमा देखिन्छन्।
धुर्मुस, सुन्तलीले सरकारी मापदण्डअनुसारकै निर्माण थालेका छन्। चारकोठे घर, घरमा धारा, बत्ती, शौचालय, सामुदायिक भवन, सामुहिक बगैंचा, अपाङ्गमैत्री, बालमैत्री दृष्टिकोणले पनि यो बस्तीको रुपरेखा तैयार पारिएको छ। काभ्रेको डाँडागाउँस्थित पहरी बस्तीमा २० घर बनाएर २० परिवारलाई गतवर्ष नै हस्तान्तरण गरिसकेका धुर्मुस सुन्तली अव ६५ घर बनाउन अघि सरेका छन्। यी कलाकार दम्पती भूकम्पपीडितको ओठमा हाँसो, आँखाको आँसु पुछ्न लागिपरेका छन्। धन्य छन् धुर्मुस र सुन्तली। यिनले राजकाजको जिम्मेवारी पाउन सकेका भए देश कसरी सम्पन्न हुने थियो?