Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पोखराका वडासचिवसहित दुई जनाउपर मुद्दा

१३ बिहिबार , चैत्र २०८१एक बर्ष अगाडि

पोखराका वडासचिवसहित दुई जनाउपर मुद्दा

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७, का वडासचिव प्रभात लामिछानेसहित दुई जनाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । घुसका आधारमा एउटै व्यक्तिको दोहोरो जन्मदर्ता बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित स्थानीय दिनेश लामिछानेविरुद्ध मुद्दा चलाएको हो ।

आयोगका अनुसार वडासचिव लामिछानेले उनको दोहोरा जन्मदर्ता बनाई साढे दुई लाख रुपैयाँ घुस बुझेको पाइएको छ । दिनेशको पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्मदर्ता बनिसकेकोमा पुनः दिनेश लामिछाने नाम राखी फरक जन्ममिति वा झुट्टा विवरणका आधारमा जन्मदर्ता बनाएको अख्तियारको ठहर छ ।

‘निज प्रभात लामिछानेले प्रतिवादी दिनेश लामिछानेको पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्मदर्ता, जन्ममिति कायम गरी दर्ता भईसकेको अवस्थामा पुनः दिनेश लामिछानेको नाममा जन्ममिति र जन्मदर्ता राखी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरी दिनेश लामिछानेको नाम, जन्मदर्ताको मिति, एकै व्यक्तिको फरक–फरक दोहोरो जन्मदर्ता समेतका विवरण झुट्टा गलत लिखत (दोहोरो जन्म दर्ता) तयार गरी दिने प्रयोजनार्थ प्रतिवादी दिनेश लामिछानेसँग घुस–रिसवत माग गरी निजले भने बमोजिमको व्यक्तिको बैंक खातामा घुस–रिसवत रु.२,५०,०००।– दाखिला गरी गर्न लगाई उक्त रकम निज प्रभात लामिछानेले आफ्नो बैङ्क खातामा पठाउन लगाई प्राप्तसमेत गरेको देखिएको,’ अख्तियारले भनेको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम साढे दुई लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।