Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सूचीकरण नहुने प्लेटफर्म सञ्चालनमा रोक

१२ बुधबार , चैत्र २०८१एक बर्ष अगाडि

सूचीकरण नहुने प्लेटफर्म सञ्चालनमा रोक

सरकारले दर्ता नहुने सामाजिक सञ्जाल प्लेटफर्मलाई सञ्चालनमा रोक लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता हुन एक महिनाको समय दिँदै सो अवधिभित्र सूचीकरण नभएमा सञ्चालनमा रोक लगाउने बताएको हो ।

सूचीकरणसहित नेपालभित्र सम्पर्कबिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न मन्त्रालयको निर्देशन छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन सूचीकरण हुनुपर्ने व्यवस्था ल्याइएपनि हालसम्म कानूनी व्यवस्थाअनुसार भाइबर, टिकटक र सारांश मिडिया ल्याव प्रालि (वीटक) मात्र दर्ता भएको मन्त्रालयको भनाइ छ । ती प्लेटफर्मबाहेक मुलुकभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मलाई आगामी ३० दिनभित्र सूचीकरण हुन भनिएको छ ।

‘नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गरेका उल्लिखितबाहेक अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम ३० दिनभित्र यस मन्त्रालयमा सूचीकरण गर्नुहुन तथा नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्नेअधिकारीको समेत व्यवस्था गर्न सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ, ‘तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने व्यहोरासमेत जानकारी गराइन्छ ।’